Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको छ : अध्यक्ष दाहाल


169
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिदैँ अध्यक्ष दाहालले यस्तो भन्नुभएको हो ।

अध्यक्ष दाहालले विधेयकलाई सदनले अनुमोदन गरेको भन्दै यो सहमतीसँगै शान्ति प्रक्रियाले पूर्णता पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले विधेयक पारित भएपछि परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने अझ फराकिलो बाटो प्राप्त गर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाको आरम्भकर्ता माओवादी भएको उल्लेख गर्दै नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना भएको बताउनुभयो ।

अध्यक्ष दाहालले आफूले सेना समायोजन र हतियार व्यवस्थापन गरेबापत पार्टी नै विभाजन भएको भएपति देशमा शान्ति स्थापन भएको बताउनुभयो । उहाँले माओवादी जनयुद्धलाई कतिपय नेताहरुले हिंसात्मक द्वन्द्व भन्ने गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले जनयुद्ध शब्दलाई संविधान सभाले समेत स्वीकार गरेको भन्दै यसबाट पछाडी नफर्किन आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले संविधान संशोधनको नाममा सिमित वर्ग, सिमित क्षेत्र, भुगोल या समूहको स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न लागिएको आशंका भएको बताउनुभयो । उहाँले सुशासनको गति रोकिनेमा प्रश्न उब्जिएको बताउनुभयो । त्यस्तै बहुदलिय प्रतिष्पर्धाको ठाउँमा दुई दलिय बनाउने कोशिस हुनेमा पनि प्रश्न उब्जिएको उहाँको भनाई छ ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाको सुरुवात्मा आफ्नो साझेदारको रुपमा रहेको भन्दै नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईराला र तत्कालिन सात दलको समेत स्मरण गर्नुभयो । उहाँले अझै पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै कार्यान्वयन गर्न पनि सबै दलहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।