Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सत्तारुढ गठबन्धनमा षड्यन्त्रको गन्ध छ, समाजवादी मोर्चाले प्रतिवाद गर्छ : गंगा श्रेष्ठ


0
Shares

काठमाडौं । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपालका सहअध्यक्ष तथा समाजवादी मोर्चा नेपालका कार्यदल सदस्य गंगानारायण श्रेष्ठले समाजवादी मोर्चाले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्ने बताउनुभएको छ ।

कार्यदल सदस्य श्रेष्ठले समाजवादी मोर्चाले देशमा राजनीतिक परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्ने बताउनुभएको हो । उहाँले नयाँ सत्तारुढ गठबन्धनले देशलाई पश्चगमनमा धकेल्न लागेको आरोप लगाउनुभयो । उहाँले प्राप्त उपलब्धिहरुलाई छिन्ने धृष्टता गरे समाजवादी मोर्चाले त्यसको बिरुद्धमा सडक र सदनबाट सङ्घर्ष गर्ने बताउनुभयो ।

कार्यदल सदस्य श्रेष्ठले देशका समाजवादी, कम्युनिस्ट र वामपन्थी शक्तिहरुहरु एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको भन्दै मोर्चाले त्यसको आधार तयार गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा मोर्चामा आवद्ध दलहरु पार्टी एकताको तहसम्म पुग्नसक्ने पनि बताउनुभयो । कार्यदल सदस्य श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धनभित्र षड्यन्त्रका गन्धहरु देखिएको भन्दै मोर्चाले षड्यन्त्रहरुको प्रतिवाद गर्ने बताउनुभयो ।

नेपाल समाजवादी पार्टी औपचारिक रुपमा समाजवादी मोर्चामा समावेश भएसँगै पार्टीका एक अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका सदस्य नरहेका व्यक्तिहरु पार्टीको नाम लिइ मोर्चामा गएको भन्दै बिरोध जनाउनुभएको थियो । यस सम्बन्धमा प्रष्ट पार्टी सह–अध्यक्ष श्रेष्ठले नेपाल समाजवादी डा। भट्टराई र महिन्द्र राय यादव नेतृत्वको दुईवटा भइसकेको प्रष्ट पार्नुभयो ।

उहाँले पार्टीका दुई अध्यक्षमध्ये महिन्द्र राय यादवले नेतृत्व गरेको पार्टी मोर्चामा सामेल भएको उल्लेख गर्दै डा। भट्टराईले आफ्नो पार्टीका सदस्यहरुको हस्ताक्षर दुरुपयोग गरेर निर्वाचन आयोगमा अद्यावधिक गरेको बताउनुभयो । उहाँले यस सम्बन्धमा आफुहरुले आयोगमा निवेदन दर्ता गरिसकेको भन्दै पार्टीको आधिकारिकता बारेमा आयोगले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

वागमती प्रदेश सकारकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहनुभएका श्रेष्ठले प्रदेश सरकार निर्माणमा केन्द्रबाट हस्तक्षेप गर्नु नहुने बताउनुभयो । प्रदेश सरकार स्वायत्त सरकार भएको उल्लेख गर्दै उहाँले कुन–कुन दलहरु मिलेर सरकार गठन गर्ने भन्ने निर्णयको अधिकार प्रदेशसँगै हुने बताउनुभयो । उहाँले केन्द्रिय गठबन्धन टुट्नासाथ सबै प्रदेशका गठबन्धनहरु फेरबदल हुँदा यसले प्रदेशको औचित्य र आवश्यकतामाथि नै प्रश्न उठाएको बताउनुभयो ।

सहअध्यक्ष श्रेष्ठले संघीयताको कार्यान्वयन गर्न प्रहरी समायोजन गर्न केन्द्र सरकारले प्रक्रिया अगाडि नबढाएको भन्दै प्रहरी समायोजनको माग गर्दै सर्वोच्च अदालतमा जाने चेतावनी दिनुभयो । प्रदेश सरकारले केन्द्र सरकारका विरुद्ध प्रहरी समायोजनको मागसहित मुद्दा हाल्ने तयारी गरेको भएपनि सम्भव हुन नसकेको उहाँको भनाई छ । उहाँले आफू सरकारबाट बाहिरिएपनि प्रहरी समायोजनको माग गर्दै एउटा नागरिकको रुपमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले समाजवादी मोर्चाको भावि कार्ययोजना बनाउनका लागि कार्यदलले काम गरिरहेको भन्दै तोकिएकै समयसिमाभित्र प्रतिवेदन पेश गरिने जानकारी दिनुभयो ।