३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


दुई राप्रपाबीच एकता प्रक्रिया सुरु


0
Shares

काठमाडौं, असार ६ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबीच एकताका लागि औपचारिकरुपमा मंगलबारदेखि प्रक्रिया सुरु भएको छ ।

दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

दुवै दलबाट गठित कार्यदलले मंगलबार पहिलोपटक गरेको छलफलमा गत दुई वर्षअगाडि दुवै दलबीच एकता महाधिवेशन हुँदा ती विषय सर्वसम्मतरुपमा पारित भएका कारण त्यसलाई आधार बनाएर जान सुझाव दिइएको छ ।

वार्तामा एकताको स्वरुप कस्तो हुने ? अध्यक्षात्मक तथा बहुपदीय स्वरुपमा संगठनलाई कसरी विकास गर्ने ? शक्ति पृथकीकरणलगायत विषयमा छलफल भएको राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

बैठकमा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा प्रजातान्त्रिकबाट दीपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्माको सहभागिता थियो ।

प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्कोपटक बस्ने सहमति भएको गुरुङले जानकारी दिए ।

हाल राप्रपाका तीन समूह छन् । जसमा एकीकृत राप्रपा राष्ट्रवादीको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले गरेका छन् ।

स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा पराजित भएपछि तीनै समूह एकताका लागि जुर्मुराएका छन् ।

वि.सं. २०४७ जेठ १५ गते राप्रपा (थापा) र राप्रपा (चन्द) जन्मी विभिन्न टुक्रामा विभाजन, एकता र पुनःविभाजन भएको छ । रासस