Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


सम्पदा बस्ती मौलिकस्वरुपमा पुनःनिर्माण गरिने


0
Shares

काठमाडौं, भदौ २९ । सम्पदा बस्ती मौलिकस्वरुपमा पुनःनिर्माण गरिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको शुक्रबार बसेको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका खोकना, बुङमती, सांखु, किलागलजस्ता परम्परागत बस्तीहरु तथा उपत्यका बाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता क्षेत्रहरुमा परेका बस्तीहरुको पुनःनिर्माण गर्दा बस्तीको मौलिकस्वरुपलाई यथावत् कायम गर्नेगरी पुनःनिर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढल निकासलगायतमा पूर्वाधारहरुको पुनःनिर्माण गर्नका लागि सरकारले प्राधिकरणमार्फत् नै लगानी गर्ने निर्णय पनि गरेको छ ।

त्यस्ता बस्तीहरुमा रहेका निजी आवास पुनःनिर्माण गर्नुपर्ने घरधनीहरुलाई मौलिक/पुरातात्विक शैलीमा पुनःनिर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, काष्ठमन्डप पुनःनिर्माण निर्देशक समितिको बैठकले काष्ठमन्डप पुनःनिर्माणमा हालसम्म भएका कार्यप्रगतिको समीक्षा गरेको छ ।

बैठकले २०७६ असार मसान्तभित्र काष्ठमन्डपको पहिलो तल्ला पुनःनिर्माण गरिसक्ने गरी आवश्यक कार्ययोजना बनाइ कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको जनाइएको छ ।

यसैगरी, बैठकले थप २३ सय गुनासोकर्तालाई पुनःनिर्माण लाभग्राही सूचीमा राखेको पनि जनाइएको छ ।