Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


नवराज विकको सम्झनामा जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो


143
Shares

काठमाडौं । अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुमका नवराज वि.क.को हत्या भएको दिन पारेर बिहीवार(जेठ १०) गते तेस्रो जात व्यवस्थाविरुद्धको विद्रोह दिवसको रुपमा मनाइएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च नेपाल र नेपाल राष्ट्रिय दलित केन्द्र नेपालले संयुक्त रुपमा जात व्यवस्था विरुद्धको विद्रोह दिवस मनाएका हुन् ।

२०७७ साल जेठ १० गते अन्तरजातिय प्रेम सम्वन्धका कारण रुकुममा नवराज विक लगायतका युवाहरु मारिएका थिए । सो दिनलाई यि संघ, संगठनहरुले जात व्यवस्था विरुद्धको विद्रोह दिवसको रुपमा मनाउने गरेका छन् ।

बिहीबार सोही सन्दर्भमा काठमाडौंको माईतीघर मण्डलामा फोटो प्रदर्शनी तथा ¥याली गरिएको छ । फोटो प्रदर्शनीमा जातिय विभेदका कारण मारिनुपरेका दलित समुदायका व्यक्तिहरुको फोटो प्रदर्शनी गरिएको थियो । एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले आजको दिन जात व्यवस्था विरुद्धको लडाईंको सन्देश दिन खोजिएको बताउनुभयो ।

कार्यक्रममा जात व्यवस्था मुर्दावाद, मान्छे मार्न पाइँदैन, जात व्यवस्था चाहिँदैन लेखिएको प्लेकार्डहरुको समेत प्रदर्शन गरिएको थियो भने जात व्यवस्था चाहिँदैन, सम्पूर्ण उत्पीडितहरु एक हौँ, वैज्ञानिक समाजवाद जिन्दावाद लगायतको नाराबाजी समेत गरिएको थियो ।