Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नेपाल र स्वीजरलाण्डबीच पदमार्गमा आधारित पर्यटन विकास परियोजना सुरु गर्ने सम्झौता


0
Shares

काठमाडौं । नेपाल सरकार र स्वीजरलाण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना शुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार सिंहदरबार स्थिति अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीजरलाण्ड राजदुत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता कार्यक्रममा बोल्दै सहसचिव कृष्ण नेपाले यो परियोजनाले कोशी प्रदेशका आकर्षक पदमार्गहरूको स्तरोन्नति गरी स्थानीय आर्थिक विकास र दिगो पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताउनुभयो । उहाँले आयोजना आगामी चार वर्षमा स्वीजरल्याण्ड सरकारको ९.०१ मिलियन डलर अनुदान सहयोगमा सञ्चालन हुने बताउनुभयो ।

सहसचिव नेपाले १६ मिलियन बराबरको आयोजनामा प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी समेत रहने बताउनुभयो । उहाँले कोशी प्रदेशको २९ स्थानीय सरकार र कोशी प्रदेश सरकारसँगको सहकार्यमा आयोजनाले करिब २ हजार स्थानीय तहलाई रोजगारी सृजना गर्ने र ट्रेल निर्माणका क्रममा नगदका लागि काम गरेर ५ लाख व्यक्तिलाई रोजगारी दिने योजना रेहेको बताउनुभयो ।

आयोजनाले स्थानीय समुदायहरूलाई बढावा दिन र यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै वार्षिक रूपमा लगभग ८० हजार आगन्तुकहरूलाई स्वागत गर्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले कोशी प्रदेशमा दिगो सामाजिक-आर्थिक विकासका लागि नेपाल–स्विस साझेदारीमा अर्को कोसेढुङ्गा सावित हुने विश्वास रहेको बताउनुभयो ।