Logo ३० कार्तिक २०८२, आइतबार | Mon Nov 17 2025


लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री दाहाल


143
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रबाट हुने लगानीलाई वृद्धि गर्नुका साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले लगानी सम्मेलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको जिकिर गर्नुभयो । उहाँले देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन नीति, कानून, सोच, संरचना र कार्यशैलीमा धेरै चुनौती र सीमाहरू रहेको बताउनुभयो । उहाँले चुनौतिको समाधान गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भएपनि लगानी भित्राउन प्रतिकुल देखिएका ऐनहरू संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाका तयारी गरिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय आकाङ्क्षा र आवश्यकताअनुरूप अर्थतन्त्रले अपेक्षित प्रगति लिन नसकेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलक्षित महत्वपूर्ण कार्यक्रमहरू समावेश गरी अर्थतन्त्रलाई सबल तुल्याउने सरकारको तयारी रहेको बताउनुभयो । उहाँले साधारण खर्चमा आवश्यक मितव्ययिता अवलम्वन गरी पुँजीगत खर्च वृद्धि गर्न आयोजना र कार्यक्रमहरूको प्राथमिकीकरण गर्नुका साथै आयोजनाहरूलाई थप व्यवस्थित बनाउन योजना वर्गीकरणको आधार र मापदण्ड निर्धारण गरिएको बताउनुभयो ।

समपूरक र विशेष अनुदान बढाउन जोड गर्ने, सशर्त अनुदान कटौती गर्दै लैजाने र जनतासँग प्रत्यक्ष जोडिने स्थानीय सरकारलाई बलियो बनाउनेतर्फ सरकारको जोड रहेको जिकिर गर्नुभयो । खर्च हुन नसक्ने ठाउँमा थुप्रिएर रहेको आयोजना र बजेटलाई अर्थतन्त्रलाई सवलीकरण गर्ने र पुँजीगत खर्च बढाउने आयोजनातर्फ स्थानान्तरित गर्नेबारेसमेत सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । वित्तीय प्रणालीको स्वस्थ र सबल नियमनलाई उच्च प्राथमिकतामा राखी निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरणका निम्ति सरकारको तर्फबाट आवश्यक सहजीकरण र व्यवस्थापन गरिने बताउनुभयो ।