Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप​ विसर्जन गरिँदै


1.4k
Shares

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसर्जन गर्ने तयारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिनुभयो । ‘खोप प्रयोग नभएपछि म्याद सकिएको छ,’ उहाँले भन्नुभयो, ‘धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदै छौँ ।’ प्रवक्ता डा।बुढाथोकीका अनुसार खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ ।

बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएका उहाँको भनाइ थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो ।

उक्त खोप चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने तथा पहिलो र दोस्रो मात्रा खोप लगाउने मानिस नभएपछि खोपको प्रयोग नभएको बताउनुभयो । ‘कोरोना महामारीको बेला खोपको माग गरेर आएको हो । ‘खोप नेपाल आउँदा धेरै मानिसले पहिलो र दोस्रो मात्रा लगाइसकेका थिए’, उहाँले भन्नुभयो, ‘खोपलाई डब्लुएचओले बुस्टरका लागि प्रयोग गर्न नमिल्ने भनेपछि हामीले प्रयोग गर्न सकेनौं ।’ बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो ।

Skip This