४ असार २०८२, बुधबार | Thu Jun 19 2025


मादल बनाउन कच्चा पदार्थको अभाव


468
Shares

काठमाडौं । तिहार भन्ने वित्तिकै झिलीमिली बत्ती र रंगीचंगी फूलसँगै देउसी भैलोको पनि उत्तिकै सम्झना आउने गर्दछ । र, देउसी भैलोसँगै सुन्न पाइन्छ, मादलको ताल । नेपाली मौलिक बाद्यवादन मादल अहिले तिहारको मौसम सुरु भएसँगै बजारमा व्यापक खोजी हुन्छ । मादलका ग्राहकहरु यसको खोजीमा भौतारिइरहेका छन् भने व्यवसायीहरुलाई मादल बनाउन र बेच्न भ्याइनभ्याइ छ ।

नेपालको एक प्रसिद्ध ताल बाजा मध्यको एक हो मादल । थरी-थरीका लोकभाकाको ताल र मीठास यही मादलमा लुकेको छ । प्राचीनसमयदेखि आधुनिक युगमा पनि उत्तिकै लोकप्रिय मादलको लागि तिहार त झनै ठूलो मौसम हो । देउसी भैलोका भाका मादल बिना अधुरो र अपुरो रहन्छ । अझ भनौं कल्पना नै गर्न सकिन्न मादलको ताल बिनाको देउसी भैलो । यसैले पनि अन्य समयमा भन्दा तिहारको समयमा बढी बिक्री हुने मादल बनाउन अहिले व्यापारीहरुलाई भ्याइनभ्याइ छ ।

पुख्र्याेलीरुपमै मादलको व्यवसाय गर्दै आएका सानु कुलुलाई व्यवसायबारे त्यति सन्तुष्टी छैन । उहाँले पहिलेका वर्षको जस्तो पछिल्ला वर्षहरुमा मादलको व्यापारमा कमी भएको बताउनुभयो । युवापुस्तामा मादलप्रति रुची कमी भएकाले व्यवसायमा कमी आएको बताउनुहुन्छ ।

पृथ्वीनारायण शाहले नेपालको बाद्यवादनलाई बढावा दिन भारतको कुलु मुनालीका बासिन्दालाई मादल लगायतका अन्य परम्परागत बाद्यवादन बनाउन नेपाल ल्याएको बताइन्छ । मूलतः तिनै समुदायका व्यक्तिहरुले पुख्यौली पेसाका रुपमा मादल व्यवसायलाई निरन्तरता दिँदै आएका छन् ।

बिगत ३० वर्षदेखि नेपालका विभिन्न सांस्कतिका कार्यक्रम होस् वा नेपाल भ्रमणमा आउने विदेशी पाहुनाको स्वागतमा होस् विभिन्न भाकामा मादल बजाउँदै आउनुभएका नेपालको प्रसिद्ध मादलविज्ञ अर्जुन चैनपुरे मादलको महत्व झल्काउँनुहुन्छ । अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाएको नेपाली गीत रेशम फिरीरीमा मादल बजाउने अर्जुन चैनपुरे अहिले मादल बजाउने तालिम दिन सुरु गर्नुभएको छ ।

मादलका विशेष गरी चार वटा ताल छन् झ्याउरे, ख्याली, सोरठी, र टप्पा । यी मध्ये पश्चिम, मध्यपश्चिम र पूर्वमा प्रचलित मादलको बारेमा धादिङका ९२ वर्षिय अन्तबहादुर थापाको छुट्टै अनुभव छ । उहाँले मादलको ताल कानलाई छुने हुनुपर्ने बताउनुहुन्छ ।

तिहारका लागि बढी माग हुने मादल बनाउन आवश्य कच्चा पदार्थको अभावले मादल बनाउन नपाएको व्यवसायी बाबुकाजी कुलु बताउनुहुन्छ । नेपाली बाद्यवादनको एक महत्वपूर्ण हिस्साको रुपमा देश विदेशमा चर्चित मादल घन्कंदा चाडपर्व मात्रै नभई नेपाली सस्कृतिकै पहिचान झल्किने भएकोले यसको संरक्षण र सम्बद्र्धनमा पनि सम्बद्ध पक्षले विशेष ध्यान दिन जरुरी देखिन्छ ।