७ असार २०८२, शनिबार | Sat Jun 21 2025


मुलुकका अधिकांश टेस्टट्युब बेबी सेवा दिने सेन्टर अवैध रुपमै सञ्चालन


3.289k
Shares

काठमाडौं । देश भरका अधिकांश आइभिएफ सेन्टर अवैध रुपमा सञ्चालन भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट देशभरका नौ वटा आईभीएफ सेन्टरले इनभिट्रो फर्टिलाइजेसन (आईभिएफ) अर्थात टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि अनुमति पाएका छन् । अहिले काठमाडांै लगाएत देशका विभिन्न शहरमा ५० भन्दा बढी आईभिएफ सेन्टर सञ्चालनमा रहेका छन् ।

संघीय राजधानी काठमाडौंमा नै धेरै आईभिएफ सेवा दिइरहेका सेन्टरहरु ईजाजत नलिइ गैरकानूनी तरिकाले सञ्चालन भइरहेका पाइएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.मदन उपाध्यायले देशभर सञ्चालनमा रहेका मध्य नौ वटा संस्थाले मात्र मापदण्ड पूरा गरेर सञ्चालन अनुमति प्राप्त गरेको जानकारी दिनुभयो ।

यसरी सञ्चालनमा आएका आईभिएफ सेन्टरले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने गरेको गुनासो पनि आइरहेको छ । सरकारले आईभिएफ शुल्कबारे स्पष्ट व्यवस्था नगर्दा र मापदण्ड नतोक्दा सेवाग्राही ठगिनेको संख्या बढेको छ ।

निःसन्तान रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी आईभिएफ सेवा निःसन्तान दम्पतीका लागि वरदान जस्तो भएपनि खर्चिलो भएको बताउनुभयो । उहाँले आईभिएफ सेवा खर्चिलो भएको र सेवा सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक पर्ने बताउनुभयो ।

आईभिएफ सेवाको समग्रमा सफलता दर विश्वमै ३० देखि ३५ प्रतिशत रहेको बताउनुभयो । तर, केही आईभिएफ सेन्टरहरुले सफलतादर शतप्रतिशत भन्दै प्रचार गरिरहेकामा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

अदक्ष जनशक्तीले आईभीएफ सेवा दिएमा त्यसको गुणस्तरियता माथि प्रश्न उठ्ने र सफलता दरपनि न्युन हुने भएकाले आईभिएफ सेवा दिने संस्थाहरुको नियमन गर्न जरुरी रहेको बताउनुभयो ।