
काठमाडौं । विज्ञहरुले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका हुन् । उनीहरुले विद्यमान ऐन, कानूनहरुले पर्यटन क्षेत्रको विकास सम्भव नहुने भन्दै ऐन, कानूनलाई समयानुकुल परिमार्जन गर्दै समृद्ध बनाउनुपर्ने बताएका छन् ।
त्यस्तै, विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजना हुनुपर्ने पनि बताएका छन् । कार्यक्रममा बोल्दै पर्यटन विभागका निर्देशक कालिप्रसाद भुजेलले पर्यटन विभागलाई नै नेपालको कुनै ऐन, कानूनले नचिन्ने अवस्था रहेको बताउनुभयो । उहाँले पर्यटन विभागले मन्त्रालयको सचिवले दिएको अधिकार प्रत्यायोजनबाट काम गरिरहेको बताउनुभयो । उहाँले ऐनले विभागलाई निश्चित बाटोहरु दिएमा काम अगाडी बढाउन सकिने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रमा नीतिगत स्पष्टता आवश्यक रहेको बताउनुभयो । उहाँले व्यक्तिपिच्छे फरकफरक बाटो हिँड्ने गरिएको भन्दै पर्यटन विकासका लागि एउटै बाटो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नीतिमा स्पष्टता दिएपछि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पर्यटनको विकासका लागि अध्ययन गर्न विज्ञ समूह नै बनाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा हाल भएका कानूनहरुको कार्यान्वयन भएमात्रै पनि धेरै राहत हुने बताउनुभयो । उहाँले ऐन, कानून भएर मात्रै नहुने भन्दै त्यसलाई कार्यान्वयन गर्ने मान्छेपनि उपयुक्त हुनुपर्ने बताउनुभयो । उहाँले सम्बन्धित मन्त्रालयको मन्त्रि, सचिव र सरोकारवाला अन्य व्यक्तिहरु पर्यटन क्षेत्र बुझेको भएमात्रै यस क्षेत्रको विकासमा काम गर्न सकिने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपक जोशीले पर्यटन क्षेत्रको विकासमा पहिलो चुनौतिको रुपमा पूर्वाधारको अवस्था रहेको बताउनुभयो । उहाँले त्यसका साथै नीतिगत स्थिरता र नेतृत्व स्थिर हुन नसक्दा पनि यस क्षेत्रमा समस्या भएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्र विगत ४० वर्ष अघिको जत्तिको पनि राम्रो हुन नसकेको टिप्पणी हुने गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै गाउँ पर्यटन प्रवद्र्धन मञ्चका उपाध्यक्ष तारालाल धरेलले नेपालमा पर्यटनको विकासका लागि डिजिटल मार्केटिङ आवश्यक रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई समृद्ध बनाउनका लागि विज्ञ समूह बनाएर काम गर्नुपर्ने बताउनुभयो । नेपाल डिजिटल रुपमा कमजोर रहेको उल्लेख गर्दै उहाँले यसलाई बलियो बनाए धेरै पर्यटक ल्याउन सकिने बताउनुभयो ।
उहाँले हवाइ उडानका कारण पर्यटकहरुले धेरै कष्ट भोग्नु परिरहेको भन्दै यसतर्फ पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्