
काठमाडौं । चिकित्सकहरुले बाथ रोगलाई निराकरण गर्न फिजियोथेरापीको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
शुक्रबार विश्व फिजियोथेरापी दिवसको अवसरमा ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा भएको कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक समेत रहनुभएका स्पाइन सर्जन डा. विनोद बिजुक्छेले कुनैपनि जोर्नीको दुखाई कम गर्न फिजियोथेरापिस्टको भुमिका अग्रणी रहने बताउनुभयो ।
बाथको उपचार शारीरिक अभ्यासबाट सम्भव हुने भन्दै बाथ रोग छिटो पत्ता लागे उपचार सम्भव हुने बताउनुभयो । उहाँले लामो सास फेरेर छाती फुलाउँदा सामान्यतया ५ सेन्टीमिटर जति छाती फुल्ने भन्दै छाती फुल्ने क्रम २ सेन्टीमिटरभन्दा कम भए बाथको शुरुको लक्षण भएको हुनसक्ने बताउनुभयो । कुनैपनि व्यक्तिलाई कम्मरको दुखाई, विभिन्न किसिमको जोर्निहरुको दुखाईको समस्या देखिए उपचार प्रक्रिया थाल्नुपर्ने बताउनुभयो ।
डा. विनोद बिजुक्छेले योगाभ्यास नियमित गरिए धेरै किसिमको दुखाईबाट छुटकरा पाउन सकिने बताउनुभयो । हातको सानो जोर्नीहरुबाट दुखाई शुरु हुनु आर्थराईटिसको लक्षण रहेको बताउनुभयो । बाथ छिटो पत्ता लगाउन सकिए हातको जोर्नी बाङ्गो हुने समस्याबाट बचाउन सकिने बताउनुभयो । बाथ रोग पत्ता लगाउन रगत परीक्षण गर्नुपर्ने बताउनुभयो ।
कतिपयमा एङ्केलोजिङ स्पोन्डीलाईटीस अर्थात मेरुदण्डमा असर गर्ने बाथ पनि देखापर्ने भन्दै यो बाथ धेरैजसो २० देखि ४० वर्षको उमेर समूहमा देखापर्ने बताउनुभयो । यो किसिमको बाथले धेरै जसोको कुर्कुच्चा र कम्मरको भाग दुख्ने उहाँले बताउनुभयो । बालबालिकाहरुमा पनि बाथको समस्या आउने गरेको भन्दै बाथलाई जुमनाईल रुमोट्रोइड आर्थराईटीस भनिने बताउनुभयो । उहाँले बालबालिकाहरुमा घुँडा सुनिने, कुहिना, नारी सुनिने जस्ता लक्षण देखिने बताउनुभयो ।
फिजियोथेरापीस्ट डा.प्रतिक पोख्रेलले बाथ भइसकेको जोर्नीमा योगाभ्यास गर्दा जोर्नी ड्यामेज गर्छ भन्ने गलत धारणा हटाउनुपर्ने बताउनुभयो । उहाँले बाथ रोगीहरुका लागि योगाभ्यासको भुमिका अग्रणी रहने भन्दै योगाभ्यासपछि थकाई लाग्नु सामान्य रहेको बताउनुभयो । उहाँले फिजियोथेरापिस्टको निगरानीमा योगाभ्यास गर्नुपर्ने बताउनुभयो । उहाँले उपयुक्त तरिकाले शारीरिक अभ्यास गरिए शरिर स्वस्थ र फुर्तिलो हुने बताउनुभयो ।
अस्तव्यस्त जीवनशैलीका कारण ढाड तथा गर्दनको दुखाई पीडा बन्दै गएको छ । त्यसका लागि फिजियोथेरापिस्टको भुमिका अग्रणी रहने गर्छ ।
प्रतिक्रिया दिनुहोस्