Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


सप्तरी हिरासत प्रकरण गम्भिरतापूर्वक छानबिन गर्न सरकारलाई दवाव


1.5k
Shares

काठमाडौं । सप्तरीको हिरासतमा रहेकी महिलामाथि गरिएको भनिएको बलात्कार घटनाको छानबिनलाई गम्भिरतापूर्वक अघि बढाउन मानव अधिकारवादी संघ, संस्थाहरुले दवाव दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालकी संस्थापक डा. रेणु अधिकारी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्याल लगायतले सो घटनाबारे तथ्य बाहिर आउने गरी छानबिनलाई गम्भिरतापूर्वक अघि बढाउन नेपाल सरकार र नेपाल प्रहरीलाई दवाव दिएका हुन् ।

२०७९ साल चैत्र ६ गते सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालयमा हिरासतमा रहेकी ३५ वर्षीया एक महिलामाथि सोही कार्यालयका प्रमुख डिएसपी दीपककुमार रायले बलात्कार गरेको आरोप लागेको थियो । पीडित पक्षले आरोप लगाएकाले त्यसमा संवेदनशील भएर नेपाल सरकार र नेपाल प्रहरीले छानबिनको कामलाई गम्भिरतापूर्वक अघि बढाउनुपर्ने ओरेक, नेपालकी अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले सो घटनाको जानकारी लिन गएका स्थानीय अधिकारकर्मीहरुमाथि पनि प्रहरीले कुटपिट गरेको भन्दै त्यसलाई हलुका रुपमा लिन नहुने बताउनुभयो । अध्यक्ष अधिकारीले सो घटनाको तथ्य बाहिर ल्याउन सबै अधिकारकर्मीहरुलाई एकतावद्ध भएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

इन्सेकका अध्यक्ष अर्यालले पनि पीडित महिलाले न्यायको माग गर्ने आँट गरेकाले त्यसको तथ्य बाहिर आउने गरी छानबिनको कामलाई गम्भिरतापूर्वक अघि बढाउन सरकार र नेपाल प्रहरीसँग माग गर्नुभयो । उहाँले सो छानबिनलाई सही ढंगले अघि बढाउने गरी वातावरण निर्माण गर्न मानव अधिकारकर्मी र सञ्चारकर्मीहरुलाई पनि आग्रह गर्नुभयो ।

इन्सेक र ओरेक, नेपालले डिएसपी रायले पद र शक्तिको दुरुपयोग गरी सो घटनाका पीडितलाई न्याय नदिने हर्कत गर्नसक्ने निष्कर्ष निकाल्दै पीडितलाई न्याय दिन सरोकारवाला निकायहरु गम्भिर बन्न आग्रह गर्दै आएका छन् ।