
काठमाडौं । आइसिसी महिला टी ट्वेन्टी विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।
मलेसियाको बायुमास ओभलमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ रनले हरायो । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्रै बनाउन सक्यो । मलेसियाको लागि विनिफ्रेड दुराईसींगमले सर्वाधिक २८ रन बनाइन् । बलिङतर्फ नेपालकी कबिता कुँवर र कबिता जोशीले दुई दुई विकेट लिंदा रुबनिा क्षेत्री र अस्मिना कर्माचार्यले १–१ विकेट झारे । मलेसियाका तीन खेलाडी रन आउट भएका थिए ।
यसअघि, टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । नेपालको लागि सिता रानामगरले अविजित ३८ रन बनाउँदा अप्सरी बेगमले १७ रनको योगदानि दिइन् । बलिङतर्m मलेसियाकी आइना हमिजाले २ विकेट लिइन् ।
महिला टी–ट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी ट्वेन्टी क्वालिफायर खेल्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्