९ असार २०८२, सोमबार | Mon Jun 23 2025


आँखा पाक्ने रोग नियन्त्रण अभियान सञ्चालन गरिएको छ : प्रधानमन्त्री दाहाल


156
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

मंगलवर प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद आस्मा चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुबाट अभियान सञ्चालन गरिरहेको बताउनुभएको हो । उहाँले समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै संक्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको बताउनु भयो ।

त्यसैगरी स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन गरी रोकथाम र प्रवन्धनका विभिन्न कार्यहरू भइरहेको पनि जानकारी दिनुभयो । त्यस्तै प्रधानमन्त्री दाहालले अघिल्लो आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १८५४.५ गिगावाट आवर विद्युत १८ अर्ब ५४ करोड रुपैयाँमा आयात गरेको र नेपालबाट १३३३ गिगावाट आवर विद्युत निर्यात गरी १० अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले गत वर्षको तुलनामा यस वर्ष विद्युत निर्यातमा वृद्धि भएको भन्दै क्रमशः विद्युत उत्पादन बढ्दै जाँदा विद्युतको निर्यात पनि बढ्दै जाने बताउनु भयो ।