काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबारको राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै एमालेका राष्ट्रिय सभाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा ६० सय किलो तस्करीको सुन समातेको थियो ।यसैमा एमालेले छानबिन समिति बनाउन माग गर्दे आइरहेको हो । एमालेको अवरोधका कारण गत साउन १० यताको राष्ट्रिय सभाको बैठक प्रभावित हुँदै आएको छ । तर हिजो सोमबार उच्च स्तरीय समिति बनाउन राजनीतिक दलहरु सहमत भएपनि बैठक संचालन हुन सकेन ।
सोमबारको सहमति अनुसार तस्करीको सुन छानबिनका लागि गठन गरिने उच्चस्तरीय छानबिन आयोगबारे मस्यौदा समितिले तयार पारेको मस्यौदालाई शीर्ष नेता बसेर आज अन्तिम रुप दिने र संसदको अवरोध खुलाउने भनिएको थियो । तर शीर्षको बैठक बस्न नसकेपछि एमालेले बैठकमा अवरोध गरेको हो । एमाले सांसदहरुले अवरोध गरिररहेपछि राष्ट्रिय सभाको अर्काे बैठक भदौ १० गते आइतबार १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएको छ ।






प्रतिक्रिया दिनुहोस्