Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


भट्टराई र नेपाललाई पक्राउबिनै बयान लिँदै सीआईबी


819
Shares

काठमाडौं । ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी गरेको छ ।

ललिता निवास जग्गा घोटाला प्रकरणको छानबिन गरिरहेको सीआइबीले टिप्पणी उठाउने, जग्गा खरिद गर्ने र उक्त जग्गा अपचलनमा कुनै न कुनै किसिमले सहभागी भएका माथि पक्राउ गरेर अनुसन्धान गर्न थालेपछि सर्वोच्च अदालतले सरकारको नेतृत्वमा बसेर निर्णय गर्ने दुई पूर्वप्रधानमन्त्रीलाई पनि छानबिनको दायरामा ल्याउन निर्देशनात्मक आदेश दिएपछि सीआईबीले बयानका लागि बोलाउने तयारी गरेको हो ।

हाल युरोप भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फर्किएपछि पक्राउ नगरी बयानमा बोलाउने तयारी गरेको छ । नेपालसँगै भट्टराईलाई पनि बयानका लागि बोलाउने तयारी गरेको हो ।

प्रहरी प्रधान कार्यालय उच्चस्रोतका अनुसार सरकारले पनि ललिता निवास प्रकरणमा जोडिएका दुई प्रधानमन्त्रीको संलग्नता हो होइन भनेर बयान लिन कुनै बाधा नपर्ने संकेत गरेपछि सीआईबीले बयानका लागि उहाँहरूलाई बोलाउने तयारी गरेको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।