३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


संघ र प्रदेश सरकारबीच द्वन्द्व चर्कियो, प्रधानमन्त्री असन्तुष्ट (भिडियो)


0
Shares

सरोज अधिकारी (इमेज)

काठमाडौं, भदौ २३ । संघीय सरकार र प्रदेश सरकारबीच अन्तरद्वन्द्व चर्किएको छ ।

संघीय सरकारले अधिकार हस्तान्तरण गर्न आनाकानी गरेको आरोप लगाउँदै मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेपछि अन्तरद्वन्द्व चर्किएको हो ।

आफ्नै दलबाट निर्वाचित भएर मुख्यमन्त्री बनेकानहरु नै संघीय सरकारको खिलापमा लागेको भन्दै प्रधानमन्त्री ओलीले सार्वजनिकरुपमा नै उनीहरुप्रतिको असन्तुष्टि ओकलेका हुन् ।

संविधानले नै व्यवस्था गरेका अधिकार संघीय सरकारले हस्तान्तरण गर्न आनाकानी गरेको भन्दै मुख्यमन्त्रीहरुले संघीय सरकारको चर्को आलोचना गरेका थिए ।

पोखरामा भेला भएका ६ प्रदेशका मुख्यमन्त्रीहरुले नागरिकता, राहदानी वितरण र सीमा व्यवस्थापनबाहेकका अन्य सबै अधिकार प्रदेश सरकारलाई दिन माग गरेका थिए ।

उनीहरुले संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो भएको निष्कर्षसमेत निकालेका छन् ।

मुख्यमन्त्रीहरु संघीय सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत् हुन थालेपछि प्रधानमन्त्री ओलीले पनि उनीहरुविरुद्ध सार्वजनिकरुपमा नै असन्तुष्टि जाहेर गरे ।

निजामती दिवसका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुले आफ्ना मन्त्रीहरुलाई नै सन्तुष्ट बनाउन नसकेको भन्दै उल्टै मुख्यमन्त्रीहरुलाई प्रश्न गरे ।

मुख्यमन्त्रीहरुले अनावश्यक दबाब दिएको भन्दै असन्तुष्ट प्रधानमन्त्री ओलीले अन्तरप्रदेश परिषदको बैठक नै स्थगित गरेका छन् ।

संघीय र प्रदेश सरकारबीच समन्वय र सहकार्यका विषयमा छलफल गर्न बोलाइएको अन्तरप्रदेश परिषद बैठक स्थगित भएपछि संघीय सरकार र प्रदेश सरकारबीच दूरी बढेको स्पस्ट भएको छ ।

एउटै पार्टीबाट निर्वाचित मुख्यमन्त्रीहरुले संघीय सरकारलाई असहयोग गरेको ठहर प्रधानमन्त्रीले गरेका छन् ।

प्रधानमन्त्रीकै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित भएका मुख्यमन्त्रीहरु ६ ओटा प्रदेशमा छन् । प्रदेश नम्बर–२ मा पनि सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालकै नेता मुख्यमन्त्री छन् ।

तर, आफ्नै र सत्तासाझेदार दलबाट निर्वाचित मुख्यमन्त्री भएकाहरु नै आलोचनामा उत्रिएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

भिडियो हेर्नुहोस्