२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


फिफा महिला विश्वकपमा स्पेनलाई हराउँदै जापान समूह विजेता


2.041k
Shares

काठमाडौं । एसियाली राष्ट्र जापान जारी फिफा महिला विश्वकप २०२३ अन्तर्गत समूह ‘सी’ को समूह विजेता बनेको छ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी विश्वकप अन्तर्गत साेमबार भएको समूह चरणको खेलमा स्पेनमाथि ४–० को फराकिलो जित निकाल्दै जापान समूह विजेता बन्न सफल भएको हो ।

न्यूजिल्यान्डको वालिङ्टन क्षेत्रीय रंगशालामा जापानलाई जित दिलाउन हिनाता मियाजावाले दुई तथा रिको युकी र मिना तानाकाले समान एक गोल गरे । दुवै टोली यसअघि नै लगातार दुई खेल जितेर प्रतियोगिताको अन्तिम १६ पुगिसकेका थिए ।

जापान भने लगातार तेस्रो जित निकाल्दै समूह चरणका सबै प्रतिस्पर्धा आफ्नो पक्षमा पार्न सफल रह्यो । यसै समूहको अर्को खेलमा जाम्बियाले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ । न्यूजिल्यान्डको वाइकाटोस्थित एफएमजी रंगशालामा सम्पन्न खेलमा जाम्बियाले कोस्टारिकालाई ३–१ ले हराउँदै ऐतिहासिक जित निकालेको हो ।

विश्वकपमा जाम्बियाको यो पहिलो जित हो । जाम्बियालाई जित दिलाउन लुसोमो एमविम्बा, बारब्रा बान्डा, रचेल कुन्दनन्जीले समान एक गोल गरे ।

कोस्टारिकाका लागि डाफनी मोङ्गेले एक गोल फर्काइन् । जितसंगै जाम्बिया तीन अंकका साथ समूहको तेस्रो स्थानमा रह्यो । कोस्टारिका भने शून्य अंकमै सीमित रह्यो ।