२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


नेत्रज्योति संघ र डाक फाउन्डेशनबीच सहकार्य गर्ने सम्झौता


143
Shares

काठमाडौं । नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनबीच आपसी सहकार्य गर्ने सम्बन्धि सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा.चेतराज पन्त र फाउन्डेशनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गर्नुभएको हो । फाउन्डेशनले सन् २०२३ का लागि ८ हजार जना आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ । संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रमहरु मार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित नागरिकहरुको निःशूल्क आँखा उपचार गर्नेछ ।

संघ र फाउन्डेशनबीचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरता स्वरुप यो बर्षका लागि बिरामीहरुको निःशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको हो । नेत्र ज्योति संघले आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न नपरोस् भनेर जनताको घर दैलोमै सहज,सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवाप्रदान गरिरहेको छ । संघले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा दशैभरी निःशुल्क शिविरहरु संचालन गरिरहेको संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो ।

डाक फान्डेशनको सहयोगमा अहिलेसम्म करिब ५ लाख बिरामीहरुको आँखाजाँच गरी ५२ हजार बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको जनाएको छ । अष्ट्रेलियन दम्पती डेभ रिकार्ड र केरी डिकार्डले आफ्नो व्यक्तिगत आयबाट संचालन गरेको फाउन्डेशनले हाल विश्वका करिब १० देशका गरिबीको रेखामुनी रहेका नागरिकहरुलाई विभिन्न स्वास्थ सेवाहरु निःशुल्क रुपमा प्रवाह गर्न अनुदान दिईरहेको छ । विश्वका ५ लाख मानिसलाई ज्योतिको दोस्रो अवसर दिने लक्ष्य रहेको फाउन्डेशनका संस्थापक डेभ रिकार्डले जानकारी दिनुभयो ।