Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने


0
Shares

काठमाडौं, भदौ २२ । नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । 

नेपाल र चीनबीच भएको प्रोटोकलसम्बन्धी बैठकले पारवहन तथा यातायात सम्झौताको कार्यविधीलाई अन्तिम रुप दिँदै चीनका सबै बन्दरगाह नेपालले प्रयोग गर्न पाउने समझदारी गरेको हो ।

बिहीबार राति दुई देशका उच्च सरकारी अधिकारीबीच समझदारी भएको होे । योसँगै नेपालबाट तेस्रो मुलुकमा हुने व्यापारका लागि भारतीय बन्दरगाह मात्रै प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा बस्तु आयात गर्दा प्रयोग हुने खुला सामुद्रिक बन्दरगाहरु, सुख्खा बन्दरगाह र ती बन्दरगाबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रियालगायतका पारवहनसम्बन्धी विविध विषयमा छलफल भई प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिइएको हो ।

कार्यविधी टुंगो लागेसँगै नेपाल र चीनबीच दुई वर्षअघि भएको पारवहन सम्झौता कार्यान्वयनको बाटो खुलेको छ । भारतको नाकाबन्दी लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा पारवहन सम्झौता भएको थियो ।

प्रोटोकलमा नेपालका तर्फबाट उद्योग मन्त्रालयका सहसचिव रविशंकर सैंजु र चीनका तर्फबाट यातायात विभागका महानिर्देशक वाङ सिपिङले हस्ताक्षर गरेका छन् ।