
काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले देशमुखि बजेट बनाउन आवश्यक रहेको बताउनु भएको छ ।
बजेट पहुँचवालामुखि भएको भन्दै उहाँले सो आवश्यक्ता औंल्याउनु भएको हो । सोमबार राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटको कार्यान्वयन र सदूपयोग गर्नेतर्फ विशेष ध्यान दिन पनि सरकारलाई सचेत गराउनु भयो ।
संघीय सरकारले बजेटको सदुपयोग गर्नका लागि प्रदेश र स्थानीय तहलाई पनि आवश्यक्ता अनुसार निर्देशन दिनुपर्ने सांसद मिश्रको भनाई थियो । उहाँले बजेट कार्यान्वयन गर्ने निकायलाई पुरस्कार र नगर्ने निकायलाई दण्डको आवश्यक व्यवस्था गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।
सांसद मिश्रले सहरी विकास मन्त्रालयको आवश्यक्ता नरहेको जिकीर समेत गर्नु भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भएकाले सहरी विकास मन्त्रालय आवश्यक नरहेको उहाँको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस्