काठमाडौं, भदौ २१ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग परियोजनाका लागि परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सन्चालन व्यवस्थापनको निमित्त हालै संयुक्त विकास सम्झौता सम्पन्न भएको छ ।
पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति गरेको छ ।
साथै, पावरचाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मासमेत लिएको पूर्वाधार विकास कम्पनीले जनाएको छ ।
नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत् प्राविधिक योजना पुनरावलोकन तथा विगत ३० महिनादेखि पटक–पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावर चाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्तावसमेत पेस गरिसकेको छ ।
पुनरावलोकनपश्चात् यस परियोजनामा सडकको कुल लम्बाइमध्ये ४४ प्रतिशत सुरुङ तथा पुलले ओगट्ने जनाइएको छ ।
यो प्रविधि नेपालको कठिन पहाडी क्षेत्रका सडक पूर्वाधार निर्माणको क्षेत्रमा नयाँ युगको थालनी हुने कम्पनीको दाबी छ ।
यसैगरी, कम्पनीको हालै बसेको सन्चालक समितिको बैठकले सर्वसम्मतरुपमा भवन भट्टलाई यस कम्पनीको अध्यक्ष चयन गरेको पनि जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्