
काठमाडौं । कोशी प्रदेशको प्रदेश सभा बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि (शुक्रबार) बोलाउनेगरी प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख बाबुराम गौतमले बैठक शुक्रबार ११ बजे बस्नेगरी स्थगित गर्नुभएको हो ।
कार्कीले प्रदेश सभामा आज बिहिबार विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै कार्कीले सभामुख गौतमलाई एमालेको संसदीय दलमार्फत पत्र पठाउनु भएको हो । शुक्रबार ५ बजे आधा घण्टाका लागि भनेर स्थगित भएको बैठक बस्दै नबसी शुक्रबार ११ बजे बस्नेगरी सारिएको हो । कतिपयले मुख्यमन्त्री कार्कीले सत्ता जोगाउन गरेको अन्तिम प्रयास भनेर भनेका छन् । बिहिबार विश्वासको मतको प्रस्तावमा मतदान हुन सकेन ।
विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुअघि सरकारको तर्फबाट मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको थियो । प्रदेश सरकारले प्रदेशअधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो ।सरकार जोगाउन मुख्यमन्त्री कार्कीलाई ४७ मत आवश्यक पर्छ ।
कार्कीलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्र समर्थन रहेको छ । कोशी प्रदेशमा एमालेको ४०,राप्रपाको ६ सिट रहेको छ । त्यसैगरी विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सभामुखबाहेक दुवै पक्षमा समान ४६–४६ सांसद हुन्छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णयक मत दिन पाउँने व्यवस्था छ ।
तर जसपाले भने मत कसैलाई मत नदिएर तटस्थ बस्ने जनाएको छ । कार्की गत पुस २४ मा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्