
काठमाडौं । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् ।
साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि नेपालले पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ । भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए ।
पहिलो खेलमा कुवेत विरुद्ध ३–१ को हारमा गोल गरेका अन्जन दोस्रो खेलमा पूरा समय खेल्न नपाउँदा नेपालको टिम सन्तुलन समेत बिग्रिएको थियो । अन्जनको घुँडामा चोट लागेको थियो । आइतबार उनको घुँडाको एक्सरे गरिएको थियो । अन्जन सोमबार नेपाली टिमको प्रशिक्षणमा पनि उपस्थित थिएनन् ।
प्रशिक्षणपछि नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अन्जन घाइते भएकोले अन्तिम खेल नखेल्ने र उनको स्थानमा अर्को खेलाडीले खेल्ने पुष्टी गरे । अन्जन चोट ठूलो नरहेको र उनी आराममा रहेको टिमले जनाएको छ ।
एक्सरेमा केही नदेखिएपछि उनको एमआरआई गरिएको थियो । एमआरआईको रिपोर्ट आज आउनेछ । कुवेत विरुद्ध गोल गर्दै नेपालका लागि १२औं गोल गरेका अन्जन सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न नजिक पुगेका थिए । उनले यही साफमा हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गर्ने अपेक्षा थियो ।
तर, भारत विरुद्ध उनले पूरा खेल्न सकेनन् भने पाकिस्तान विरुद्ध खेल्ने छैनन् ।
प्रतिक्रिया दिनुहोस्