
प्रतीक्षा खनाल/राजेन्द्र नापित/कुमार कटुवाल (इमेज)
काठमाडौं, भदौ २१ । विश्व सम्पदा सूचीमा सूचीकृत पाशुपत क्षेत्रको श्लेषमान्तक वनमा दर्शनार्थीको सुविधाका लागि भन्दै पशुपति क्षेत्र विकास कोषले बनाउन लागेको कंक्रिटयुक्त पैदलमार्गको निर्माणकार्य रोकिएको छ ।
पशुपति क्षेत्र विकास कोषले आधुनिक निर्माण सामग्री प्रयोग गरेर बाटो बनाउन थालेपछि पुरातत्व विभागले यसलाई रोकेको हो ।
पाशुपत क्षेत्रको गोरखनाथ मन्दिरदेखि विश्वरुपा मन्दिरसम्मको करिब १६० मिटर लामो निर्माणाधीन पैदलमार्गमा विवाद देखिएको छ ।
वि.सं. २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुगेको विश्वरुपा मन्दिरको प्रांगणसम्म पुग्ने यस मार्गले दर्शनार्थीहरुलाई मन्दिरसम्म पुग्न सहज बनाउँछ ।
तर, विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा प्रयोग गरिएको निर्माण सामग्री उचित नभएको पुरातत्व विभागको दाबी छ ।
विद्युतीय शवदाहगृहको उदाहरण दिँदै पुरातत्व विभागका पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले सम्पदा क्षेत्रमा आधुनिक सामग्रीको प्रयोग गर्नै नहुने कुरा सत्य नभएको बताए ।
विकल्प हुँदासम्म सम्पदा क्षेत्रमा आधुनिक सामग्रीको प्रयोगलाई कुनैपनि हालतमा प्रोत्साहन गर्न नमिल्ने पनि उनले स्पस्ट पारे ।
पशुपति क्षेत्र विकास कोषले जानकारीबिना नै निर्माण थालेको बाटोमा परम्परागत सामग्रीको प्रयोग गर्न सकिने भट्टराईले बताए ।
यता, पशुपति क्षेत्र विकास कोषले आधुनिक निर्माण सामग्रीको प्रयोग पाशुपत क्षेत्रमा नयाँ नभएको दाबी गर्छ ।
परम्परागत सामग्रीको उपलब्धता र प्रयोग सहज नहुँदा अहिलेको स्वरुपमा बाटो बनाउन थालिएको तर्क पशुपति क्षेत्र विकास कोषका योजना प्रमुख भरत मरासिनी गर्छन् ।
विश्वका सम्पूर्ण सनातन धर्मावलम्बीहरुको आस्थाको थलो रहेको पाशुपत क्षेत्रलाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको थियो । यस क्षेत्रको धार्मिक साथै पुरातात्विक महत्व पनि उत्तिकै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्