
काठमाडौं । सर्वाेच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूले सामूहिक रुपमा बस्न पाउनु पर्ने दबाब दिएपछि संसदीय सुनुवाइ समितिले गरेको छलफल बुधवार टुंगोमा पुग्न सकेन ।
समितिले २३ जना उजुरीकर्तालाई छलफलका लागि बोलाएको थियो । प्रत्येक उजुरीकर्तालाई समितिले १० मिनेट समय दिएर गोप्य छलफल गरिरहेकै बेला उजुरी कर्ताकै एक समूहले सबै उजुरी कर्ताले सामूहिक बोल्न पाउनुपर्ने र सुनुवाई समिति समेत अबैध भएको भन्दै बिरोध गरेपछि छलफल टुंगिन नसकेको हो । सुनुवाइ समितिको जेठ १६को बैठकले १० दिनको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । कार्कीको भोली संसदीय सुनुवाइको मिति तय भएको अवस्थामा समितिले आज उजुरीकर्ताहरूलाई छलफलमा बोलाएको हो ।
गत बैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो । संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
संसदीय सुनुवाई समितिको गत सोमवार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाई जेठ ३२ गते गर्ने र त्यसै दिन सो प्रस्तावलाई अनुमोदन गर्ने लगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको थियो । कार्यतालिकामा उजुरीकर्ताहरुसँग छलफलका लागि जेठ ३१ गते बुधबार बिहान ११ बजेको समय तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्