काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरुलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नु भएको छ ।
शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताउनु भएको हो ।
त्यस अवसरमा उहाँले महिला सांसदहरुका लागि संघीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागि पर्ने समेत बताउनुभयो । उपसभामुख रानाले सबै विद्यालयहरुमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
रानाले महिलाहरुलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गर्नु भयो । आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसकोविरुद्ध महिलाहरुले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाई थियो ।
उपसभामुख रानाले महिलाहरुको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंशा पनि गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्