Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


प्रहरी अनुसन्धान प्रतिवेदन तयार

नक्कली भुटानी शरणार्थी प्रकरण

338
Shares

काठमाडौं । ‘हाई प्रोफाइल व्यक्ति’ पक्राउ परेको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र बिचौलियाको बयान, बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन किर्ते, एसएमएस र केही बाउन्स चेक प्रमाणका रूपमा पेस गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको छ।

प्रहरीले आइतबार उक्त अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने जनाएको छ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सुरुमा पीडितले दिएको बयान र गिरोहका सदस्यहरूले दिएको बयानका आधारमा फेला परेका बाउन्स चेक, मोबाइल सफ्टवेयर रिकभर गर्दा भेटिएका एसएमएस र गृह मन्त्रालयले गठन गरेर तयार पारेको प्रतिवेदनको किर्तेलाई नै मुख्य आधार र प्रमाणका रूपमा लिएर प्रतिवेदन तयार पारी सरकारी वकिल कार्यालयमा बुझाउन लागिएको हो।

‘सचिव टेकनारायण पाण्डेको एसएमएसका मात्रै ४० देखि ४५ वटा स्क्रिन सर्ट राखिएका छन्, अन्य बिचौलिया, गिरोह र पीडितका स्क्रिन सर्ट छन्,’ स्रोतले भन्यो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।