Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्छ: सांसद कार्की


39
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुन नसक्ने बताउनुभयो। उहाँले स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हैसिएर बजेट बनाउने सुविधा नभएको बताउनुभयो।

सांसद कार्कीले अर्थतन्त्रमा देखिका समस्या र चुनौती रहेको अवस्थामा लोकप्रिय नभएर यथार्थपरक बजेट मुलुकलाई आवश्यकता रहेको बताउनुभयो। उहाँले अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सवल बनाउने विषयको समर्थन गर्नुभयो ।

उहाँले नेपाल विकासको फड्को मार्ने सम्भावना भएको मुलुक भएपनि सरकारले सोही अनुसार अगाडि बढाउन नसकेको बताउनुभयो । २०४६ सालमा पञ्चायति व्यवस्थाको अन्त्य भएर बहुदलिय सरकार स्थापना हुँदै गर्दा प्रतिव्यत्ति एक सय ८० डलर नेपालीहरुको आय सन् २०२१ सम्ममा त्यो आय १२ सय डलर पुगेको भन्दै यो गति सुस्त भएको उहाँले बताउनुभयो ।