३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


चैतमा साढे ३३ अर्ब रकमान्तर : आन्तरिक ऋण तिर्न २७ अर्ब रूपैयाँ


312
Shares

काठमाडौं । चालु आर्थिक वर्षको बितेका नौ महिनामध्ये गत चैत महिनामा मात्र सरकारले करीब साढे ३३ अर्ब रूपैयाँ बराबर रकमान्तर गरेको छ । सरकारले स्रोतान्तर र थप निकासा गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ सालको चैत महिनामा पुँजीगततर्फ रू. १ करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार रू. ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो ।

यस अवधिमा अर्थ मन्त्रालयले २७ अर्ब रूपैयाँबराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थ विविध शीर्षकबाट निकासा दिइएको छ । यसैगरी, अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालु खर्चका लागि २८ लाख ४३ हजार रूपैयाँबराबर थप निकासा दिइएको छ ।

संघीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रूपमा ५० लाख रूपैयाँ निकासा दिइएको छ । लोकसेवा आयोगलाई ४ करोड ३३ लाख रूपैयाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लागि ६ करोड रुपैयाँ बराबर निकासा दिइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।