परासी । नवलपरासीको सुनवलका मेयर विमला अर्यालको कार्यशैलीप्रति स्थानीय राजनीतिकदलले असन्तुष्ट जनाएका छन् ।
राजनीतिक पूर्वाग्रही राखेर नयाँ सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउनेदेखि नदीजन्यपर्दाथ ठेक्काद्वारा नभई कम्पनीलाई बिक्री गरेको कार्य पारदर्शी नभएको भन्दै स्थानीय पाँच राजनीतिक दलका नेताहरुले बिहीबार मेयर अर्याललाई ज्ञापन पत्र बुझाउनु भएकाे हाे ।
एमाले बाहेक सुनवलनगर क्षेत्रमा रहेका नेपालीकांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाका नगर स्तरीय प्रमुखहरुले १२ बुद्दे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा नयाँ सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई पुरानै प्रमुख प्रशाकीय अधिकृतलाई कायम गराउन खोज्ने मेयरको अडानले लामो समयदेखि नगरपालिका हाकिम विहिन हुँदा सेवाग्राही मर्कामा परेको, ठेक्का बिना नदीजन्य पदार्थ चिनियाँ कम्पनीलाई बिक्रीगर्दा पारदर्शी नगरिएको, नगरपालिकाको बजेट वितरणमुखी बनाइएकोले योजनाहरु उत्पादमुखी र परिणामुखी बनाउन मागगरिएको छ ।
सरकारी तलब खाने कर्मचारीलाई पार्टीका कार्यकर्ता सरह आफूखुसी परिचालन गर्ने गरेको, मेयर नजिकमा रहेका सामान्य कर्मचारीले दिएको निर्देशन उपल्लो कर्मचारीले मान्नु पर्ने स्थिति सृजना हुँदा कर्मचारीको मनोबल खस्किन गएकोले त्यसतर्फ पनि दलहरुले मेयरको ध्यानाकर्षण गराएका छन् ।
ज्ञापन पत्रमा बढ्दै गएको नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण हुनुपर्ने, अनावश्यक रुपमा कर्मचारी भर्ना बन्द हुनु पर्ने लगायतका माग दलहरुले राखेका छन् । आफ्ना १२ बुद्दे माग तीन दिनभित्र पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरिने माओवादी केन्द्रका नगर सभापति मोहन कार्कीले बताए ।
ज्ञापन पत्र बुझेपछि मेयर अर्यालले आफू महिला मेयर भएकाले चारैतिरबाट घेराबन्दी गर्न खोजिएको बताइन् । उनले नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत पुराना मेयरलाई भेट्न गएपछि आफू शशंकित भएको बताइन् ।




प्रतिक्रिया दिनुहोस्