Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


पत्रकार महासंघ डडेल्धुरामा तालाबन्दी


325
Shares

डडेल्धुरा । मागपत्र सुनुवाई नभएको भन्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा तालाबन्दी गरिएको छ ।

यहि चैत्र १६ गते प्रेस चौतारी नेपाल डडेल्धुरा शाखा र स्वतन्त्र पत्रकार डडेल्धुराको संयुक्त आयोजनामा १० सुत्रिय माग राख्दै तीन दिने अल्टिमेटमसहित महासंघलाई बुझाएको ज्ञापनपत्रको कुनै सुनुवाई नभएको भन्दै बुधवार महासंघमा तालाबन्दी गरिएको हो ।

पत्रकार महासंघ डडेल्धुरा शाखालाई बुझाएको ज्ञापन पत्रको बोधार्थ प्रदेश समिति र केन्द्रीय समितिलाइ पठाएको भए पनि एक हप्ता बिति सक्दा समेत सुनुवाई हुन नसक्नु बिडम्बना मात्रै नभई गैर जिम्मेवार हर्कत भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

डडेल्धुराको व्यवसायिक पत्रकारीतामाथि पटक–पटक महासंघका गतिविधिका कारण आम नागरिक प्रश्न चिन्ह उठ्दै आइरहेका छन । तर हामी सच्चिनुको साटो उल्टो थप आलोचित हुने काममा उद्धत भइरहेका छौँ । महासंघ एकलकाटे ढंगबाट अघि बढिरहेको छ र निर्वाचित भएको दुई वर्षको अवधिमा भए गरेका गतिविधिहरुका विषयमा महासंघ डडेल्धुराको १५ औँ साधारण सभामा व्यापक असन्तुष्टि र प्रस्तुत कार्यपत्रहरु अस्विकृत भएका विषयमा हामी सबै जानकार छौँ भनी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘थप छलफल नै नगरी एकाएक रुपमा अघि बढेकाले तत्काल हामीले बुझाएका मागहरु सम्वोधन र कार्यान्वयन गराउने सुनिश्चितता नहुँदासम्म तालाबन्दी यथावत नै रहने जानकारी गराउँदछौ ।’

यस्तै आन्दोलनबाट हुने समस्या र चुनौतीका विषयमा आफूहरु गम्भीर रहेको र महासंघलाई गम्भीर बन्न आग्रह गर्दै उचित निकास बिना तालाबन्दीको आन्दोलनलाई हस्तक्षेप गर्ने तथा ताला खोल्ने दुस्साहन कसैबाट भए प्रतिकार गरिनुका साथै कानुनी उपचारमा जान बाध्य हुने चेतावनी समेत चौतारी नेपाल डडेल्धुरा शाखा र स्वतन्त्र पत्रकारले दिएकाे छ ।