Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


चर्को ब्याज असुलेको आरोपमा जनमत पार्टीका नेता नियन्त्रणमा


481
Shares

काठमाडौं । चर्को दरमा ब्याज असुलेको र धरौटीबापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ का सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले राजविराज–७ स्थित घरबाटै शर्मालाई नियन्त्रणमा लिएको हो । शर्मा जनमत पार्टीका पूर्व जिल्ला इन्चार्जसँगै हाल केन्द्रीय सदस्य समेत हुन् । उनी पार्टीभित्र सुरेन्द्र मधेशीका नामले चिनिन्छन् ।

उनीमाथि इलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

सप्तरीकै बोदेवरसाइन नगरपालिका १० का निर्मलकुमार यादवको जाहेरीले नेपाल सरकार वादी भइ शर्मामाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलाइएको हो । डिएसपी सिंहका अनुसार जाहेरीकर्ता निर्मलका बुबा शंकर यादवले पक्राउ गरिएका सुरेन्द्रका बुबा सत्यनारायण शर्मासँग २०६६ सालमा घर खर्चका लागि भन्दै २५ लाख रुपैयाँ ऋण लिएका थिए ।

ऋण लिंदा शंकर यादवले सत्यनारायण शर्मालाई आफ्नो स्वामित्वको शम्भुनाथ नगरपालिका–७ स्थित ८ बिघा ७ कट्ठा ७ धुर जग्गा लिखत पास गरिदिएका थिए । सत्यनारायणले आफ्नो नाममा लिखत पास भइ आएको जग्गा छोरा सुरेन्द्रप्रसाद शर्माको नाममा पास गरिदिएका थिए ।

ऋणीले पूरै ऋण चुक्ता गर्दा पनि सुरेन्द्रले जग्गा फिर्ता गर्न नमानेपछि प्रहरीमा जाहेरी दिएको डिएसपी सिंहले जनाए । ऋणीले ऋण चुक्ता गरे पनि चर्को ब्याज जोड्दै आफ्नो रकम बाँकी रहेको दवावसहित जग्गा फिर्ता गर्न नमानेपछि पीडित पक्ष मिटरब्याज असुलेको भन्दै प्रहरीमा गएको बताएका छन् ।

मिटरब्याजमा मुद्दा चलाउने कुनै कानुन नभएपछि आपराधिक विश्वासघात र ठगीमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।