Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


राहदानीको विषयलाई लिएर रवि लामिछाने विरुद्ध सर्वाेच्चमा रिट दर्ता,पेसी मंगलबार


1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध राहदानी (पासपोर्ट) को विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा सोमबार लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुग्नुभएको थियो । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको हो ।

रिटको पेसी मंगलबारका लागि तोकिएको छ । अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको छ । आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको रिट निवेदक पौडेलको जिकिर छ ।

त्यस्तै राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी छ । दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि पौडेलले रिटमा उल्लेख गर्नुभएको छ ।