Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


घिमिरेविरुद्ध अख्तियारमा मुद्दा दर्ता


1.5k
Shares

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत वर्ष बजेट बनाउने क्रममा अनधिकृत चलेख गरी करका दर हेरफेर गरेको आरोप लागेका पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा दुई करोड भन्दा बढीको भ्रष्टाचार दायर गरेको छ ।

घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा राजश्व हिनामिना गरी राजश्व छलेको, गैरकानुनी काम गरी राजश्वका विभिन्न कार्यालयबाट करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका सदस्यहरुको नाममा लुकाएको अभियोगसहित अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

घिमिरेले अवैध रुपमा कमाएको रकम विभिन्न कम्पनीहरु र शेयरमा लगानी गरेको तथा ठाउँ ठाउँमा जग्गा खरिदको अनुसन्धानबाट पत्ता लागेको पनि अख्तियारले जिकीर गरेको छ । २०५२ कात्तिक २८ देखि २०७९ पुस १२ गतेसम्म सरकारी जागिरमा रहेका घिमिरेले जागिर अवधिभर कमाएको तथा उनकी श्रीमती शारदा गौतमले कमाएको लगायतको भन्दा २ करोड १४ लाख ४६ हजार ६५७ सय रुपैयाँको स्रोत पुष्टि हुन नसकेको अख्तियारले बताएको छ ।

घिमिरे र उनकी पत्नी शारदाबाट स्रोत नखुलेको रकम तथा सोही बराबरको जरिबाना असुल गर्न पनि अख्तियारले माग गरेको छ ।