३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


प्रेस स्वतन्त्रता कुण्ठित गर्ने व्यवस्था परिमार्जन गर्न दलहरुको प्रतिबद्धता


0
Shares

काठमाडौं, भदौ १७ । मुलुकी संहितामा रहेको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने व्यवस्था परिमार्जन गर्न राजनीतिक दलहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महसंघले गरेको कार्यक्रममा सत्तारुढ र विपक्षी दुबै पक्षका नेताहरुले प्रेस स्वतन्त्रता विरोधी प्रावधान संशोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रेस विरोधी कानुन परिमार्जन गर्न आफुहरु तयार रहेको र पार्टीले निर्णयसमेत गरिसकेको बताए । कांग्रेसको जन्म नै स्वतन्त्रताका लागि भएकाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध कहिल्यै कांग्रेस नरहने उनले बताए ।

नेकपाका नेतृ पम्फा भुसालले प्रेस कुण्ठित हुने कानुनको पक्षमा आफुहरु नरेको भन्दै त्यसलाई परिमार्जन गर्न पार्टीमा बहस चलाउने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा वरिष्ठ पत्रकारहरु हरिहर विरही, नारायण वाग्ले, गोविन्द आचार्यलगायतले तत्काल संसदमा सो कानुन परिमाजर्नका लागि संशोधन प्रस्ताव दर्ता गराउन आग्रह गरे । उनीहरुले प्रेस सेल्फ सेन्सरसीपको अवस्थामा रहेको भन्दै यस्तो अवस्था रहे सुशासन र भ्रष्टाचाररहित समाज कल्पनामा मात्र सीमित रहने बताए ।