रसुवा । रसुवाको धुन्चेमा आधुनिक हेलिप्याड निर्माण गरिएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले जिल्ला सदरमुकाम धुन्चेमा आधुनिक हेलिप्याड निर्माण गरेसँगै राति पनि हेलिकप्टर अवतरण गर्न सकिने भएको छ ।
हालसम्म विमानस्थल नै नभएको रसुवामा राति हेलिकप्टर अवतरण गर्न नयाँ हेलिप्याड बनाइएको हो ।
भौगोलिक विकटता, जीर्ण सडक र एम्बुलेन्स अभावका कारण जटिल खालका बिरामी समयमा अस्पताल पुर्याउन अब राती पनि सहज हुने विश्वास गरिएको छ ।
हेलिप्याड निर्माणका लागि गोसाइँकुण्ड, आमाछोदिङ्मो र कालिका गाउँपालिकाले आर्थिक सहयोग गरेका हुन ।
हेलिप्याडमा वाइन्ड डिरेक्सन इन्डिकेटर, लाइटिङ, हेलिकप्टरको इन्ट्री र एक्जिट प्वाइन्ट राखिएकोे गणले जनाएको छ ।
बत्ती आइकाओ मापदण्डको राखिएको छ । हेलिप्याडमा २० वटा सेन्सर बत्ती छ ।
रातिको समयमा बल्ने र उज्यालो भएपछि निभ्ने भएकाले अवतरणमा समस्या नहुने सेनाले जनाएको छ ।
५० फिट डायमिटरको हेलिप्याडमा एमआई सेभेन्टिन हेलिकप्टर अवतरण गर्न सकिने बताइएको छ ।
सामान्य अवस्थामा सर्वसाधारणले हेलिप्याड प्रयोग गर्न नपाउने भएपनि आपतकालिन अवस्थामा भने प्रयोग गर्न सक्ने छन् ।









प्रतिक्रिया दिनुहोस्