Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


भोजपुरमा ठेकी बनाउने पेसा संकटमा


806
Shares

भोजपुर । भोजपुरमा काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन् । लामो समयदेखि यो पेसा अपनाएपनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ ।

गत वर्षसम्म धेरैले यो पेसा गर्दै आएपनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला,संरक्षणको अभाव र पुस्तान्तरण नहुँदा पेसा संकटमा पर्दै गएको चुँदाराहरुको भनाइ छ । ठाउँअनुसार गाउँघरमा पाइने पँयले,दार,मौवा,कटहरलगायतका काठबाट स–साना आकारका गोलियालाई कुँदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गरेका छन् ।

दूध जमाउने ठेकीबाहेक मोही पार्ने ठेकी, कोसी, आरी खुर्पेटा कुँदेर चुँदाराले आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादनलगायतका औजारको प्रयोग हुने गर्दछ ।

नयाँ पुस्तामा ध्यान नजाँदा र व्यावसायिक हुन नसक्दा परम्परागतरूपमा नै ठेकी बनाउने चलन छ । मेहनतले खोलाखोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उर्पाजन नहुने भएपछि यो पेसा संकटमा पर्दे गएको हो ।

५१ बर्षदेखि ठेकी बनाउँदै आएका भोजपुर गोगनेका रत्नबहादुर विश्वकर्माले पुस्तान्तरण नुहँदा समस्या भएको बताउनुभयो । एउटा ठेकी बनाएको दुई सय ५० देखि तीन सयसम्म ज्याला लिने गरेको उहाँको भनाई छ । चुँदाराले कलात्मकरूपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाडो, गम्बुलगायत विभिन्न सामग्री बनाउँदै आएका छन् ।