म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ का रत्नचौरवासीले वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहानको विषयलाई लिएर उत्पन्न विवाद चरम उत्कर्षमा पुगेको छ। रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका–५ कमेरेस्थित खानेपानीको मुहान बागलुङ नगरपालिका–४, उपल्लाचौरको बजारमा लैजान खोजिएको छ। बागलुङ नगरपालिकाको अगुवाइमा सो खानेपानीको मुहान भत्काइएपछि विवाद चर्किएको हो।
२०२३ सालदेखि खनाराम थापा र उनका परिवारका सदस्यको लिखित अनुमतिमा उपभोग गर्दै आएको खानेपानी रत्नेचौरवासीको सहमतिबिनै ट्यांकी र मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि रत्नेचौरमा करिब एक सातादेखि खानेपानीको आपूर्ति बन्द भएको छ। बागलुङ नगरपालिका–४, उपल्लाचौरमा खानेपानी लैजान रत्नेचौरवासीले उपभोग गर्दै आएको मुहानमा अवरुद्ध गरिएको उपभोक्ता तिलकबहादुर महतले बताए। ‘२०२३ सालदेखि नै जग्गाधनीसँगको लिखित सहमतिमा हामीले कमेरेस्थित मुहानको पानी उपभोग गर्दै आइरहेका छौं। हामीसँग लिखित प्रमाण छ’, महतले भने।
महतका अनुसार २०२३ सालमा कुलो निर्माणमा कमेरे खानेपानीलाई देखाएर संरचना बनाइएको र कुलोबाट लगेको पानी रत्नेचौरवासीले उपभोग गर्दै आएका छन्। ‘रत्नेचौरवासीका लागि खानेपानीको वैकल्पिक स्रोत नै छैन। अहिलेको अवस्थामा सो मुहानबाट बागलुङ नगरपालिका–४ लाई पानी उपलब्ध गराउन सक्ने अवस्था छैन’,महतले भने। उनले विगतका कानुनी नजिर तथा सरकारी निर्णयमा समेत बागलुङ नगरपालिकामा खानेपानीको आवश्यकता परेमा रत्नेचौरवासीलाई प्रतिकूल असर नपर्नेगरी वैकल्पिक स्रोतको खोजी गर्ने सहमति भएको बताए।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्