
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-२ कफलकोटमा रहेको रौलेश्वर माविमा प्रथम विद्यालय सरसफाई सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।
विद्यालयलाई तीनतारे घोषणा गर्ने उद्येश्यले सम्मेलनको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर भाटले जानकारी दिनुभएकाे हाे । रोटरी क्लबको आर्थिक सहयोग तथा संयोजन नेपालको प्राविधिक सहयोगमा विद्यालयमा सरसफाई तथा स्वच्छता सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि विद्यालयले सम्मेलनको आयोजना गरेको हो ।
तीनतारे विद्यालय घोषणा गर्न खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धिका विभिन्न ७ सूचक पार गर्नका लागि विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जस अन्तर्गत विद्यालयमा आवश्यकता अनुसार मैत्रीपूर्ण शौचालय निर्माण, शौचालयमा साबुनपानी, शौचालयमा नियमित सरसफाई,विद्यालयमा सेनेटरी प्याडको प्रयोग गरी उचित व्यवस्थापन, सुरक्षित खानेपानीका लागि फिल्टरको व्यवस्था, कक्षाकोठामा डस्विन राखिएको र फोहोर वर्गीकरण गरी उचित व्यवस्थापन गर्ने लगायतका कार्यहरू भइरहेका छन् ।
यसको दिगोपना र नियमितताका लागि विद्यालयले खानेपानी, सरसफाई तथा स्वच्छता कोष स्थापना गरिएको प्रधानाध्यापक भाटले बताउनुभयो । विद्यालयमा तीनतारे घोषणाका लागि सबै सूचक ७५ प्रतिशत पार भइसकेको र केही महिनाभित्रै तीनतारे घोषणा गर्ने विद्यालयको लक्ष्य रहेको छ ।
साेही सम्मेलनमा दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती ऐरी कार्की, वडा नम्बर २ का अध्यक्ष विष्णुदत्त भट्ट लगायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्