Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढे


0
Shares

विनोद सिंह विष्ट

बैतडी, भदौ १५ । लगातारको बर्षा र मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्यसंस्थामा बिरामीको संख्या बढेको छ । केहीदिन यता जिल्ला अस्पातलमा उपचारका लागि आउने बिरामीको संख्या बढेको हो ।

बर्षाको समयमा खानपिनमा ध्यान नदिँदा बढी बिरामी पर्ने गरेका छन् । यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामीहरु बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

अचेल दैनिक ७० भन्दा बढी बिरामी अस्पतालमा आउने गरेका जिल्ला अस्पताल बैतडीले जनाएको छ । जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएको सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् । 

अस्पतालमा उपचारका लागि आउनेमध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले जानकारी दिए । भाइरल ज्वरो, टाइफाइड, झाडापखालाका बिरामीहरु बढेका छन्  उनले भने, ‘बर्षातमा पानीका मूहान दुषित हुने भएकाले दुषित पानीकै प्रयोगबाट विभिन्न रोगहरु सर्ने गरेका छन्,’ जिल्ला अस्पताल बैतडीमा आउने बढीजसो बिरामीहरुमा महिला, बालबालिका तथा बृद्धबृद्धा छन् । 

मौसममा आएको परिवर्तनले रुघाखोकी, ज्वरो, झाडापखालाका बिरामी बढेकाले खानपिनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीको सुझाव छ । खानेपानीको प्रयोग गर्दा उमालेर प्रयोग गर्नुपर्ने, व्यक्तिगत सरसफाईमा पनि विशेष ध्यान दिनसमेत उनीहरुले आग्रह गरेका छन् ।