काठमाडौं । रुसले युक्रेनविरुद्ध पूर्ण स्तरमा आक्रमण गरेको शुक्रबार एक वर्ष पूरा भएको छ । दुवै देशबीच शान्तिवार्ताको छिटपुट प्रयास भए पनि युद्धको अन्त्य चाँडै हुने परिस्थिति अझै देखिएको छैन । युद्धका कारण भएका मृत्युबारे आधिकारिक तथ्यांक दुवै देशले सार्वजनिक गरेका छैनन् । तर दोस्रो विश्वयुद्धयता युरोपमा भएको सबैभन्दा ठुलो मानिएको यो युद्धमा परेर हजारौंको ज्यान गएकोछ र लाखौं मानिस विस्थापित भएका छन् ।
रुसी आक्रमणको एक वर्ष पुगेको दिन शुक्रबार बिहान युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राम पोस्टमा भनेका छन्, ‘गत फेब्रुअरी २४ मा हामी लाखौंले एक बाटो रोजेका थियौं । हामी भाग्नेछैनौ । बरु शत्रुसँग डटेर लड्नेछौ । प्रतिरोध र संघर्ष गर्नेछौं ।’ उनले आगामी वर्ष विजयीको वर्ष हुने दाबीसमेत गरेका छन् ।
‘यो एक वर्ष दु:ख, पीडा, विश्वास र एकताको वर्ष थियो । यो अपराजेयताको वर्ष थियो । हामीलाई थाहा छ, यो वर्ष हाम्रो विजयको वर्ष हुनेछ,’ सर्वशक्तिमान मानिएको रुसी सेनाको आक्रमणको प्रतिरक्षा गर्न सफल जेलेन्स्कीले भनेका छन् । सिंगो विश्वको अर्थव्यवस्था, ऊर्जा तथा खाद्य संकटदेखि भूराजनीतिक तनावसमेत सिर्जना गरेको यो युद्धको अझै अन्त्य हुने छाँट देखिएको छैन ।
गत वर्ष फेब्रुअरी २४ मा युक्रेन आक्रमण गर्दा रुसी राष्ट्रपति पुटिनले केही दिनमै युद्ध सकिने आकलन गरेका थिए । उनले राजधानी किभलाई आक्रमणको केन्द्र बनाउन र राष्ट्रपति जेलेन्स्कीलाई बन्दी बनाउन प्रस्ट निर्देशन दिएका थिए । तर उनले एक वर्षसम्म पनि त्यो सफलता हात पार्न सकेका छैनन् र त्यो दुष्कर बन्दै गएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्