Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


राष्ट्रपति निर्वाचन : सिटौला पनि सक्रिय


598
Shares

काठमाडौं । कांग्रेसले नयाँ राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने तयारी गरेका बेला नेता कृष्णप्रसाद सिटौलाले पनि सोही पदका लागि सक्रियता बढाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता विमलेन्द्र निधिसहितले पौडेललाई नै राष्ट्रपति बनाउन चाहेका छन् ।

सभापति देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने वचन दिए पनि पूर्वमहामन्त्री सिटौलाले पार्टीभित्र र बाहिरबाट नेतृत्वमाथि दबाब सिर्जना गरेको स्रोतको दाबी छ । ‘उहाँ (सिटौला) को सक्रियता निकै बढेको छ,’ कांग्रेसका एक नेताले भने, ‘अन्तिम अवस्थामा नेता पौडेललाई पछि पारेर उहाँ उम्मेदवार बन्नुभयो भने पनि आश्चर्य हुँदैन ।’ माओवादी केन्द्र, नेकपा एससहित दलका नेतासँग सिटौला निरन्तर छलफलमा रहेको कांग्रेस नेताले बताए ।

सिटौलाका कारण एमालेले थप खेल्ने मौका पाएको टिप्पणी गर्दै एक नेताले भने, ‘उहाँ पनि पार्टीको महत्वपूर्ण नेता हो । तर, पौडेललाई छाडेर सिटौलालाई उम्मेदवार बनाए कांग्रेसमा विग्रह र वितृष्णा उत्पन्न हुनेछ ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।