
काठमाडौं, भदौ १४ । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घृणितकार्य रोक्नका लागि विशेष योजना बनाउन आवश्यक रहेको बताए ।
बलात्कारका घटना न्यूनीकरणका लागि देशव्यापीरुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सन्चालन गर्नुपर्ने मन्त्रालयले ठहर गरेको छ ।
गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध हो भन्दै कहीँ–कतै त्यस्तो भए उनीहरुलाईसमेत कारबाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए ।
महिला हिंसा एवं बलात्कारका घटनाका उजुरीमा लापरबाही नगरी गम्भीरतापूवर्क कारबाही अघि बढाउन उनले प्रहरीलाई निर्देशन दिए ।
गृहसचिव प्रेमकुमार राईसमेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कन्चनपुरमा बालिका मृत्यु घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि गठित छानबिन समितिलाई सहयोग पुग्नेगरी सबै पक्षले काम गर्नुपर्ने बताए ।
‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’
अनियन्त्रित मदिराको बिक्री–वितरण र लागुपदार्थको सेवनलगायत कारणले बलात्कार र महिला हिंसाका घटना बढेको ठहर गर्दै यसविरुद्ध मन्त्रालयले अभियान सुरु गर्ने भएको छ ।
मन्त्रालयले केही दिनभित्रै देशव्यापीरुपमा ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सन्चालन गर्ने भएको छ ।
मदिराको व्यवस्थित बिक्री–वितरण र सेवनसम्बन्धी प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषदमा लैजानका लागि तयार पारेको छ ।
सो प्रस्ताव पारित भएलगत्तै यही भदौ मसान्तभित्रै सो अभियान घोषणा गर्ने मन्त्रालयको तयारी छ ।
इन्टरनेटमार्फत् अश्लीलता बढेका कारण पनि बलात्कारका घटना वृद्धि भएकाले यसको नियमनबारेमासमेत मन्त्रालयले छलफल सुरु गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्