
प्रकाश नेपाल (इमेज)
इलाम, भदौ १४ । अघि–अघि पन्चेबाजा । पछि–पछि बाहुसे र रोपाहार । पन्चेबाजाको तालमा संगीतमय रोपाइँ गर्दै इलाममा बिहीबार रोपाइँजात्रा मनाइएको छ ।
१०० वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिकारूपमा स्थापित रोपाइँजात्रा सदरमुकाममा भव्यरुपमा मनाइएको हो । जिल्लाका अरु स्थानमा पनि हरेक वर्ष रोपाइँजात्रा मनाइन्छ ।
पन्चेबाजाको तालमा रोपाहार र बाहुसेले बजार परिक्रमा गर्दै रोपाइँको अभिनय गरेर रोपाइँजात्रा मनाइने गरिन्छ ।
राणाशासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.सं. १९७२ मा सुुरु गरेको रोपाइँजात्रा अहिले नेपाल भाषा तथा संस्कृति समाजको अगुवाइमा निकालिन्छ ।
यसले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै मौलिक संस्कृतिको संरक्षणमासमेत सहयोग पुर्याउँदै आएको छ ।
यहाँ विगत १० वर्षदेखि नेपाल भाषा तथा संस्कृति समाजको पहलमा रोपाइँजात्रा आयोजना भइरहेको छ ।
जात्रालाई स्थानीय पर्वकारूप मनाइँदै आएकाले इलाम सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानका विद्यालयहरूमा बिहीबार बिदासमेत दिइएको थियो ।
रोपाइँको झल्को दिन अघि–अघि गोरु हली र बाउसे तथा पछि–पछि रोपहारले धान रोपेझैं गरेर यो जात्रा मनाइन्छ । यो जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपेको देखाइन्छ । विभिन्न झाँकीसमेत प्रदर्शन गरिन्छ ।
रोपाइँजात्राको रौनक हेर्न विगत वर्षहरुमाझैं यो वर्ष पनि पाँचथर, झापा, ताप्लेजुङदेखि भारतका दार्जिलिङ, सिक्किम, गान्तोकसम्मका पर्यटकहरु आए ।
नेवार र लिम्बू संस्कृतिसँग मिल्दोजुल्दो देखिने जात्रामा पछिल्लो समयमा सबै समुदायको सहभागिता रहिआएको छ ।
जनैपूर्णिमा सकिएपछि कृष्णजन्माष्टमी आउनुअघिको बिहीबार पारेर इलाम सदरमुकाममा रोपाइँजात्रा निकालिने प्रचलनअनुरुप योपटक रोपाइँजात्रा निकालिएको नेवार देय दबुका केन्द्रीय सदस्य कमल श्रेष्ठले बताए ।
इलामका अरु क्षेत्रमा भने यो जात्रा बेग्ला–बेग्लै दिन पारेर निकालिन्छ ।
प्रतिक्रिया दिनुहोस्