
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार काठमाडौंको गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा अंगका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरक्षा अधिकारीसहितको बैठक राखेर प्रधानमन्त्री दाहालले घटनाको गहिरो अनुसन्धान गर्न र अन्यायमा परेकाले न्याय पाउने गरी कारबाही अघि बढाउन निर्देशन दिनुभएको हो ।
सोमबार दिउँसोदेखि यातायात मजदुरले गोंगबु क्षेत्रमा गरेको आन्दोलनका क्रममा यातायात अवरुद्ध पार्नुका साथै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलमा तोडफोड र त्यहाँको मोवाइल पसलमा लुटपाट भएको थियो । त्यस्तै, आन्दोलनकारीले माछापोखरीमा प्रहरीका दुईवटा गाडी र प्रहरी विट जलाएका थिए ।
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरुले पूर्वअनुमान नगरेको बताएका थिए । उनीहरुले घटनामा ३३ जना सुरक्षाकर्मी घाइते भएका, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको ब्रिफिङ गरेका प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
सुरक्षा अधिकारीहरुले घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएको समेत जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्