काठमाडौं । सरकारले फागुन १ गते साेमबार जनयुद्ध दिवस’ काे अवसरमा सार्वजनिक बिदा दिएकाे छ ।
सरकारले २०५२ साल फागुन १ गते नेकपा (माओवादी केन्द्र) ले हिंसात्मक गतिविधि सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ भन्दै सार्वजनिक बिदा दिएको हाे । हिंसात्मक गतिविधिका कमाण्डर समेत रहनुभएका पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएको अवसरमा पहिलो पटक जनयुद्ध दिवस भन्दै सार्वजनिक विदा दिनुभएको हो । विगत १५ वर्षमा माओवादी केन्द्र पटक-पटक सरकारमा पुगे पनि जनयुद्ध दिवस भनेर फागुन १ गते सार्वजनिक बिदा दिने आँट गरेको थिएन ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकमा सत्ता साझेदार दलहरुको विरोध हुँदा हुँदै प्रधानमन्त्री दाहालको जोडमा साेमबार सार्वजनिक बिदा दिइएपछि यसको सर्वत्र आलोचना समेत भएको छ । सत्ता घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध स्वरुप आइतबारको मन्त्रिपरिषद बैठक बहिष्कार गरेको थियो ।
केही दिन अघि मात्रै प्रधानमन्त्री दाहालले सार्वजनिक बिदा धेरै भएको भन्दै बिदा कटौती गर्नुपर्ने बताउनु भएको थियो । तर आफ्नै अभिव्यक्ति प्रतिकूल हुने गरी दाहालले अर्को बिदाको भार थप्नु भएको छ । माओवादी र त्यसका अन्य घटकहरुले भने प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ को रूपमा मनाउँदै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्