१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


उपचार गर्न पाउनु पर्ने माग गर्दै बिरामीद्वारा प्रदर्शन


143
Shares

काठमाडौं । आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर चिकित्सकहरूले अस्पतालहरुमा सेवा ठप्प पारेपछि बिरामीहरूले उपचार गर्न पाउनु पर्ने माग गर्दै बिरामी र तिनका आफन्तहरु प्रदर्शनमा उत्रिएका छन् ।

आइतबार बिहान उपचारका लागि विभिन्न अस्पताल पुगेका बिरामीहरूलाई अस्पताल प्रशासनले कुनै पनि उपचार नहुने भनेपछि बिरामी र तिनका आफन्तहरू प्रदर्शनमा उत्रिएका हुन् ।

राजधानीको वीर अस्पतालमा उपचारका लागि पुगेका बिरामीहरू त सडकमै निस्केर प्रदर्शन गरेका थिए ।

बिरामी र तिनका आफन्तको प्रदर्शनले बिहान केही बेर ट्राफिक ब्यवस्थापनमा समस्या भएको थियो । प्रदर्शनकारीहरूलाई सडकबाट हटाउन प्रहरी नै परिचालन गर्नु परेको थियो ।

नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका हुन् ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले आन्दोलनरत् चिकित्सकहरूसँग वार्ता गरी सेवा सुचारू गराउने प्रयास भईरहेको जनाएको छ ।

मन्त्रालयले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आह्वान गरिएको आन्दोलन फिर्ता लिएर सेवा सुचारू गर्न भनेको थियो ।