
काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर साहीले तरकारीको बिक्री बितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रमुख सचेतक शाहीले नेपाली किसानहरुलाई आत्महत्या हुनबाट जोगाउन भन्दै उनीहरुलाई तत्काल हत्कडी लगाएर जेल चलान गर्न कृषि मन्त्री ज्वालाकुमारी साहसँग माग गर्नुभएको हो ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भारतबाट आयात हुने तरकारीमा प्रतिवन्ध लगाउन पनि सरकारलाई दवाव दिनुभयो ।
नेपालमा व्यापार नभएर आत्महत्या गर्न बाध्य भएका किसानहरुलाई राहत दिन पनि सरकारले भारतबाट आयात हुने तरकारीमा प्रतिवन्ध गराउनुपर्ने उहाँको तर्क थियो । चालु आर्थिक वर्षको ६ महिनामा १० अर्ब ११ करोड २२ लाख रुपैयाँको हरियो तरकारी आयात गरिएको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले नेपालको ठूलो धनराशी यसरी खेर गइरहेको बताउनुभयो ।
उहाँले एशियामा नै कहलिएका ४४ वटा उद्योग कहाँ गयो भनि सरकारलाई प्रश्न गर्नुभयो । सरकारले चर्को व्याजदर असुली गरेका कारण साना किसानहरुले आत्महत्या र आत्मादाहको बाटो रोज्नुपरेको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले यस्तो अवस्था आउन नदिने गरी सरकारले ब्याजदर निर्धारण गर्नुपर्ने पनि बताउनुभयो ।
प्रमुख सचेतक साहीले नेपालका किसानहरुले भारतमा तरकारी बेच्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै त्यसको पनि अन्त्य गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्